काठमाडौं– नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघले मिलेनियम च्यालेन्ज कर्पाेरेसन परियोजनाको विषयलाई लिएर अमेरिकी सहायक विदेशमन्त्रीद्वारा नेपालका शीर्ष नेताहरुसँग फोनवार्ताका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्नु र दबाब दिनु अन्तर्राष्ट्रिय प्रचलित कानुन, परराष्ट्रनीति तथा कुटनीतिक मान्यता विपरीत भएको जनाएको छ ।
‘यस्तो नांगो हस्तक्षेप, दबाब र धम्कीले साम्राज्यवादी नीति र दादागिरीको पर्दाफास गरेको तथा यो सम्झौता नेपाल र नेपालीको हितका लागि नभई अमेरिकीहरुकै स्वार्थका लागि भएको स्पष्ट पारेको छ,’ महासंघको विज्ञपितमा भनिएको छ, ‘साथै देश र जनताको हितविपरीत विदेशीको दलालीकै निम्ति राष्ट्रघाती सम्झौता संसदमा पेस गर्न र पारित गर्न आतुरहरुको दासताको मनोवृत्ति पनि आम जनताले चिन्ने मौका मिलेको छ ।’
महासंघले आफ्नो स्वार्थका लागि देश र जनतामाथि गद्दारी गर्नेलाई जनताले माफी दिने छैनन् र इतिहासको कठघरामा उभिनुपर्नेछ भन्दै अमेरिकी सहायक विदेशमन्त्री लुले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई एमसिसी फिर्ता भए चीनको हस्तक्षेप ठान्छौं भन्ने भनाइ निकृष्ट, अपमानजनक, हस्तक्षेपकारी तथा धम्कीपूर्ण रहेको जनाएको छ ।
‘नेपालको आन्तरिक मामला र राजनीतिमा यो हर्कत पञ्चशीलको सिद्धान्त र अहस्तक्षेपको नीतिविरुद्ध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती मिलेनियम च्यालेन्ज कर्पाेरेसन सम्झौताको विरुद्धमा आम नेपाली जनता रहेको र यस सम्बन्धी विवाद आन्तरिक भएको स्पष्ट हुँदाहुँदै यसमा जनगणतन्त्र चीनलाई दोष दिनुले यो सम्झौता इन्डो–प्यासिफिक रणनीतिको हिस्सा भएको र चीन घेराउ नीति अन्तर्गत रहेको भन्ने कुरालाई छर्लंग पारेको छ ।’
महासंघका अध्यक्ष बलराम बाँस्कोटाले जारी गरेको विज्ञप्तिमा अमेरिकी अधिकारीको शैलीलाई दादागिरी भन्दै धम्कीपूर्ण भाषाप्रति खेद प्रकट गरिएको छ ।









