किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा रुसले मंगलबार (फेब्रुअरी १६) आफ्नो मुलुकमा आक्रमण हुन सक्ने संकेत गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ’ उल्लेख गरेका छन् ।
उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्् । यससम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको पश्चिमी सञ्चार माध्यमहरुले बताएका छन् । सेनाको उपस्थितिले अमेरिका र नेटो सहयोगीबीच चिन्ता र तिक्तता बढाएको छ । तर रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताइरहेको छ ।

युक्रेन, रुस र नेटो राष्ट्रका अधिकारीले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तीव्रता दिएका छन् । तर वार्ता सफलतातर्फ उन्मुख छैन ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर मूल्य’ चुकाउनुपर्ने बताएका थिए ।

बाइडेन प्रशासनका अधिकारीले युक्रेनमाथि ‘अब कुनै पनि दिन’ आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय