काठमाडौं– काठमाडौं– सत्तारूढ गठबन्धनमा सहभागी दलहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता संघीय संसदमा टेबल गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सम्झौता टेबल गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता संघीय संसदमा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद थियो । लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि भनिएको सहयोगसम्बन्धी सम्झौता संसदमा टेबल गर्ने विषयमा दलहरुबीच सहमति बनेको हो ।

शुक्रबारको बैठकले आजसम्म यस विषयमा सहमति खोज्न दलहरु सहमत भएका थिए । लामो विवादका कारण आयोजना कार्यान्वयन हुने समयसमेत पर सर्दै आएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले सत्तारूढ गठबन्धनले एक मतका साथ एमसिसी टेबल गर्ने सहमति गरेको जानकारी दिए ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक निरन्तर अवरोध गरिरहेको छ नि भन्ने प्रश्नमा मन्त्री कार्कीले भने, ‘उहाँहरुले नै यो सम्झौता संसदमा लैजानुभएको हो । संसद्को अवरोध कायम राख्नु हुन्छ कि खोल्नुहुन्छ, अब यो विषय पनि उहाँहरुकै हो, उहाँहरुलाई नै सोध्नुहोस् ।’ जनताको सार्वभौम जनप्रतिनिमूलक थलो संसद्मा नै यस विषयमा अब छलफल हुने र निष्कर्षसमेत निस्कने उनको भनाइ थियो ।

अमेरिकाले यही फागुन १६ गतेभित्र एमसिसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई चेतावनीपूर्ण आग्रह गर्दै आएको छ । एमसिसीको अनुदान नलिए नेपालनीति पुनर्विचार गर्ने चेतावनीसम्म अमेरिकाले दिएको छ ।

करिब ५५ अर्ब रुपैयाँ अमेरिकी अनुदानबाट ४०० केभी क्षमताका ३१२ किलोमिटर प्रसारण लाइन र सडक पूर्वाधार निर्माण हुनेछ । काम सुरु भएको पाँच वर्षभित्र सो परियोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय