काठमाडौं– वर्तमान सरकारमा सहभागी राजनीतिक दलहरुले व्याख्यात्मक घोषणासहित संसदबाट अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता पारित गर्ने निर्णय गरेको छ । गठबन्धनको उक्त निर्णयविरुद्ध नयाँ बानेश्वरमा उग्र प्रदर्शन सुरु भएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार व्याख्यात्मक घोषणाको ड्राफ्ट तयार भइरहेको छ ।
कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र महामन्त्री गगन थापा, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाँक्री जस्ता दोस्रो तहका नेताले घोषणा तयार गरिरहेको स्रोतले बनाएको छ ।
उक्त घोषणा आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी छ । संसद बैठकको कार्यसूचीमा एमसिसीबारे सैद्धान्तिक छलफल गर्ने उल्लेख छ ।









