काठमाडौं– स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियू (एनआइसियू) बन्द भएको छ । बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियू बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियू नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था आइसियू सञ्चालनसँगै अन्त्य भएको थियो । तर मेडिकल सुपरिटेन्डेन्ट सरुवा भएलगत्तै उक्त सेवा बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन् ।
अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियू नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआइसियू र १६ शय्याको अर्को आइसियू सञ्चालनमा ल्याएकी थिइन् ।
आफ्नो सरुवा भएको केही दिनपछि नै बच्चाको आइसियू (एन्आइसियू) बन्द भएको सुन्दा दुःख लागेको डा गौतमले बताइन् । अस्पतालले बच्चाको आइसियू सञ्चालन गर्न थप ६ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुनः सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष नवराज गेलालले नमूनाका रुपमा सञ्चालित भक्तपुर अस्पतालमा बन्द आइसियू तत्काल सञ्चालनमा ल्याउनुपर्ने र अस्पतालबाट बिरामी निजी अस्पतालमा रेफर गर्ने कार्य रोक्नुपर्ने बताए ।
अस्पतालका वर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर ढुंगेलले अस्पतालले विगतमा तयारी नै नगरी एनआइसियू सञ्चालन गरेकाले बन्द गर्नुपरेको जानकारी दिए ।









