काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा प्रतिस्पर्धा गरेका निकोलस पाण्डेलाई प्रजातन्त्रवादी पक्षधरले समर्थन गरेका छन् ।

नेपाली कांग्रेसले पाण्डेलाई आफ्नो आधिकारिक उम्मेदवार भएको प्रस्ट पारेको छ । शनिबार कांग्रेसनिकट निर्माण व्यवसायीहरुको भेलामा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले कन्फ्युजनमा नपरी निकोलस नेतृत्वको टिमलाई जिताउन आग्रह गरे । ‘प्रजातन्त्रवादीको नेतृत्वमा संगठन रहोस् भनेर उम्मेदवार तय गरिएको छ,’ उनले भने, ‘क्षमता, कार्यकुशलता, गतिशीलताका आधारमा निकालोस् सक्षम उम्मेदवार हुनुहुन्छ ।’

उनले एउटै व्यक्तिलाई एउटै पदमा निरन्तरता दिनुभन्दा नयाँ व्यक्तित्वलाई अगाडि ल्याउनु उपयुक्त हुने पनि बताए । महासंघमा वर्तमान कार्यसमितिमा पाण्डे वरिष्ठ उपाध्यक्ष छन् । अमेरिकामा पढेका निकोलस स्वदेशमै बसेर विकास निर्माणमा सक्रिय भएकाले उनको क्षमताको कदर गर्न पनि अध्यक्षमा जिताउनुपर्ने नेता पाण्डेको भनाइ छ ।

नेता पाण्डेले निकोलस् विद्यार्थीकालमा नेविसंघमा लागेको र अहिले आधिकारिक रुपमा कांग्रेसको सदस्यता लिइसकेकाले उनलाई जिताउन कांग्रेस लागिपर्ने बताए । ‘गत वर्ष हाम्रै प्यानलमा राखेर जिताइएको थियो, यसपालि पनि कांग्रेसले निकोलस्लाई समर्थन गर्छ,’ उनले भने, ‘प्रजातन्त्रवादीहरु सबै उहाँलाई जिताउन लागौं ।’ निकोलस प्रजातन्त्रवादी पक्षधरको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

पाण्डे अघिल्लो कार्यकालमै अध्यक्ष उठ्ने चर्चा चले पनि वर्तमान अध्यक्ष रवि सिंहले अर्को कार्यकालमा अध्यक्ष बनाउन सहयोग गर्ने वचन दिँदै वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए । निर्माण व्यवसायीहरु झण्डै ७० प्रतिशत कांग्रेस निकट रहेको र कांग्रेसको समर्थनले चुनाव जित्न थप सहज हुने बताइन्छ ।

निकोलसलाई सत्ता गठबन्धनका दलनिकट निर्माण व्यवसायीको समर्थन रहेको बताइन्छ । उनले एमाले, राप्रपा, स्वतन्त्र पक्षधरको मत समेत बढी पाउने अनुमान छ । महासंघको अध्यक्षमा वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको छ । निकोलस् कालिका कन्सट्रक्सनका सञ्चालक तथा राप्रपा उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय