काठमाडौं– उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्वले पूर्णता पाएको छ । सोमबार भएको निर्वाचनबाट समितिले पूर्णता पाएको हो । २५ सदस्यीय कार्यसमितिमा १३ जना सर्वसम्मत भएका थिए भने १२ जना मतदानबाट निर्वाचित भएका हुन् ।

समितिको अध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ र उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कर्पोरेट उपाध्यक्षमा शिरिष पन्त विजयी भएका छन् । उनले शंकर नेपाललाई ४४ मतान्तरले जितेका हुन् । कर्पोरेट उपाध्यक्षमा राजेन्द्र ओली निर्वाचित भए । कर्पोरेट उपाध्यक्षमा भोजराज कौडाल र ओलीबीच प्रतिस्पर्धा भएको थियो ।

यस्तै वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रवीन्द्रकुमार श्रेष्ठ, सन्तोषजनक भुसाल निर्वाचित भएका छन् । यस्तै वाणिज्यतर्फका ६ सदस्यमा थीरप्रसाद धिताल, दीपा शाही, धनप्रसाद पोखरेल, नारायण प्रधान, राजन पिया, ज्ञानुप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

फागुन २५ गते भएको मनोनयनमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि संघको कार्यसमिति महिलातर्फ पूर्णिमा श्रेष्ठ, क्षेत्रीयतर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डा जीवनकुमार श्रेष्ठ र रजनी मास्के निर्विरोध निर्वाचित भएका थिए । उद्योगतर्फ कार्यसमिति सदस्यमा अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लीलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघमा तीन हजार ४३७ मत रहेकामा दुई हजार २०१ जनाले मतदान गरेका थिए । संघका कार्यकारी निर्देशक नीलबहादुर केसीका अनुसार नवनिर्वाचित कार्यसमितिलाई बुधबार पद हस्तान्तरण कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय