काठमाडौं– नेपाल इन्जिनियर्स एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ ।

पाँच प्रदेशमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा लोकतान्त्रिक समूह निर्वाचित भएको निर्वाचन समितिका सदस्य उमेश गुप्ताले बताए । पाँच प्रदेशमा नेतृत्वसहित मुख्य पद गरी बहुमतमा सिडेनको समूह निर्वाचित भएको उनले जानकारी दिए ।

अहिले मत गणना भइरहेको मधेश प्रदेश र बागमतीमा पनि धेरै पदमा सिडेनकै पदाधिकारी एवं सदस्यको अग्रता छ । मधेश प्रदेशका दुई निर्वाचन केन्द्रमध्ये एक र बागमतीका तीन निर्वाचन केन्द्रमध्ये एकको मतगणना अहिले जारी छ । आज बेलुकीसम्म जनकपुर काठमाडौं केन्द्रको पनि मत परिणाम आउने समितिले जनाएको छ । राज्य पुनःसंरचनापछि प्रदेशको दोस्रो कार्यकालका लागि मतदान भएको हो ।

एसोसिएसनको अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् । अग्रता कायम गर्ने सिडेनका उम्मेदवारमा मधेश प्रदेशमा श्यामकिशोर यादव र बागमतीमा रोहिणी पौडेल छन् ।

केन्द्रीय नेतृत्वमा पनि सिडेनकै अग्रता
केन्द्रीय नेतृत्वमा पनि सिडेनका पदाधिकारी एवं सदस्य गरी बहुमतमा अग्रता कायम गरेको छ । लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा डा हरिबहादुर दर्लामी नेतृत्वको समूह प्रतिस्पर्धामा छ ।

यसैगरी प्रगतिशील समूहबाट डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिस्पर्धा गरिरहेको छ । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि पाँच प्रदेशमा विजयीसहित केन्द्रमा पनि अग्रता कायम गरेको उपाध्यक्ष पदका उम्मेदवार नारायण अधिकारीले सुनाए । एसोसिएसनको ३३औं कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो ।

एसोसिएसनबाट इन्जिनियर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवारको अग्रता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय