काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट उद्योगीहरूको संस्था नेपाल उद्योग संघको केन्द्रीय अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन भएका छन् । शनिबार चितवनको सौराहामा सम्पन्न संघको दोस्रो साधारणसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा डा भट्टराईको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बाँस्तोला, महासचिवमा ईश्वरबहादुर गुरुङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम र देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवमा शोभा कोइराला, शोभाकान्त बस्याल, विक्रम लिम्बू चेम्जोङ र प्रेम बस्नेत छन् । अन्य पदाधिकारी पछि मनोनयन गरिने निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिए ।

अधिवेशनको एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले उद्घाटन गरेका छन् । उनले अबको युग निर्माणको भएकाले उद्योगी व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

साधारणसभामा अध्यक्ष डा भट्टराईले प्रस्तुत गरेको १० पृष्ठको प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै महासचिव ईश्वरबहादुर गुरुङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित भएको छ । विसं २०७० मा स्थापना भएको नेपाल उद्योग संघ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अन्तर्गतको संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय