
काठमाडौं– लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्तकलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरु हुने कार्यक्रम जेठ दोस्रो साता बागमती प्रदेशको चितवनमा समापन हुने आयोजकले जनाएको छ । पहिलो चरणमा पोखरापछि चैत २३ गते बुटवल, चैत २७ गते वीरगन्ज र वैशाख २ गते विराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोस्रो चरणमा सुदूपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ ।
उक्त कार्यक्रममा स्थानीय स्टार्टअप तथा विद्यार्थीका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टलाई प्रदर्शनीमा राखिनेछ । सहभागीले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनोट समितिको सहभागितामा प्रस्तुति दिनेछन् । यसैगरी, उनीहरुले आइटी क्षेत्रका सफल स्थानीय तथा केन्द्रका उद्यमीबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।
आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनोट गरी काठमाडौंमा बिजनेस इन्क्युवेसनमा सहभागी गराउने जनाएको छ । छानिएका स्टार्टअपहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन् । स्टार्टअपहरुले आवश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवर्द्धनको लागि निःशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृष्ट १ लाई आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ ।
हरेक प्रदेशको कार्यक्रममा ३० भन्दा बढी स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाको उपस्थितिमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तक्र्रिया तथा डिजिटल संवाद कार्यक्रम हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले निःशुल्क सहभागी हुने अवसर पाउनेछन् । कार्यक्रम अवलोकन र सहभागिता निःशुल्क छ ।
कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसिसिए, ब्रोडवे इन्फोसिस, सिएसआइटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ । यसैगरी, सोही दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दूरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र निजी क्षेत्रको उपस्थितिमा विशेष अन्तक्रियात्मक रुपमा सञ्चालन हुनेछ ।