काठमाडौं– अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र परिवार दलबीच तालमेल गर्ने गरी सहमति भएको छ । एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।
पाँचबुँदे सहमतिमा देशभरका तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, नेपाल परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने, नेपाल परिवार दलका उम्मेदवारलाई नेकपा एमालेले सघाउने, नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने र नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।
परिवार दलका उम्मेदवार निर्वाचित भएको खण्डमा आफ्नै पार्टीमा रहने र जिल्ला तहमा भएको छलफल र सहमतिको सम्बन्धमा आ–आफ्नो प्रदेश र केन्द्रीय नेतृत्वसमक्ष नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्ने विषयमा सहमति भएको हो ।
२०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर एमालेसँग चुनावी सहकार्य गरेको परिवार दलले निर्वाचन नजिकिएसँगै फेरि एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको हो । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोली र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यस विषयमा पटक पटक वार्ता भएको थियो । मंगलबारको भेटवार्तापछि तालमेल गर्ने सहमति जुटेको हो ।
एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै नेपाल परिवार दलका अध्यक्ष एवम् पुर्वमन्त्री एकनाथ ढकालले एमाले पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए ।









