काठमाडौं– ठूलो पिँजडा अनि त्यसभित्र एउटा बाँदर । वरिपरि मानिसहरूको भीड छ, कोही मोबाइल लिएर त्यो बाँदरको भिडियो बनाइरहेका छन् त कोही बाँदर नजिकै गएर आफ्नो टाउको झुकाइरहेका छन् । त्यो बाँदर पनि कहिले रिसाए झैं गरी कसैको कपाल जोडले तानिरहेको हुन्छ भने कहिले विस्तारै टाउकोमा हात राखेर आशीर्वाद दिए झैं गरिरहेको हुन्छ ।

यो प्रसंग हो केही समययता सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा भाइरल भएको एउटा बाँदरको । विगत १२ वर्षदेखि पशुपतिको सूर्यघाटमा त्यहाँका भक्तजनहरूले संरक्षण गरेर पालेर राखेको त्यो बाँदर विगत डेढ–दुई महिनायता भने सामाजिक सञ्जालहरूमा एकाएक भाइरल बन्न पुगेको छ । अहिले पशुपतिको सूर्यघाट क्षेत्रमा ‘आशीर्वाद दिने बाँदर’, ‘साक्षात् भगवान्को रूप’ अनि ‘दैवी शक्ति भएको बाँदर’ लगायत कुरा गर्दै बाँदरसँग भिडियो बनाउने, फोटो खिच्ने र आशीर्वाद लिनेहरूको घुइँचो लाग्ने गरेको छ ।

सूर्यघाटमा सबैजना त्यो बाँदरलाई पवन भनेर बोलाउँछन् । पवन यहाँको रैथाने बाँदर नभएर भारतबाट ल्याइएको हो । झण्डै १२ वर्षअगाडि २०६५–६६ सालतिर एकजना भारतीय साधु महाशिवरात्री पर्वमा पशुपतिनाथको दर्शन गर्न आउँदा पवनलाई पनि आफ्नो साथमा लिएर आएका रहेछन् । उत्तर प्रदेशको अयोध्याबाट आएका ती साधुको साथमा नेपाल आउँदा पवनको उमेर जम्माजम्मी ६–७ महिनाको मात्र थियो । नेपालबाट भारत फर्किंदा भने ती साधुले पवनलाई पशुपतिमै छाडेर हिँडेका रहेछन् ।

त्यसबेला वर्ष दिन पनि नपुगेको त्यो बाँदरलाई त्यसपछि सूर्यघाटका जोगीहरू र अन्य भक्तजनहरूले संरक्षण गर्न थालेछन् । त्यतिबेला पवन सानै भएकोले शुरूशुरूमा उसलाई भक्तहरूले कहिले डोरीले बाँधेर त कहिले आफ्नो निगरानीमा खुल्लै छाडेर पालिरहेका थिए तर जवान हुँदै गएपछि पवनले आक्रामक व्यवहार देखाउन थालेको सूर्यघाटका भक्त जीवन लामाले बताए ।

अलि ठूलो भएपछि पवनले मान्छेहरूलाई टोक्ने र चिथोर्ने गर्न थालेको जीवन लामाले बताए । ‘बाँधेर राख्ने गरेको भए पनि उसले कोही नजिक गयो कि टोक्ने र चिथोर्ने गर्न थाल्यो, हुँदा–हुँदा उसलाई पाल्ने र खाना दिने हामीलाई समेत आक्रमण गर्न थाल्यो,’ लामाले भने, ‘अति गर्न लाग्यो भनेर हामीले खुल्ला छोडिदियौं तर खुल्ला छाड्दा यहाँका स्थानीय बाँदरहरूले यसलाई आक्रमण गरेर ज्यानै खत्तम बनाइदेलान् जस्तो गर्न थाले ।’

बाँदर एउटा सामाजिक प्राणी हो । बाँदरहरू आपसमा समूह बनाएर बस्दछन् र उनीहरूको खाना खोज्ने, घुमफिर गर्ने वा बास बस्ने लगायतका हरेक क्रियाकलाप सामूहिक रूपमै हुने गर्दछ । बाँदरको स्वभाव आफ्नो समूहभन्दा बाहिर पनि नजाने र आफ्नो समूहमा बाहिरबाट कसैलाई छिर्न पनि नदिने प्रकृतिको हुन्छ ।

पशुपति क्षेत्रमा मात्रै बाँदरहरूको दुई–तीनवटा छुट्टा–छुट्टै समूह रहेको छ र त्यो समूहको आ–आफ्नो क्षेत्र छ । यहाँका बाँदरहरू त सकेसम्म आफ्नो समूहभन्दा वा क्षेत्रभन्दा बाहिर गए भने आपसमा लडाइँ गर्न थाल्छन् भने बाहिरबाट आएको बाँदरलाई त उनीहरूले देखिसहने कुरै भएन । पवनलाई खुला छाडिदिँदा उसको ज्यानकै सुरक्षा गर्न गाह्रो हुने भएपछि सबैको सल्लाहमा उसलाई सूर्यघाटमै एउटा सानो खोरमा थुनेर राख्न थालिएको लामाले जानकारी दिए ।

पवन यहाँको रैथाने जातको नभएका कारण उ यहाँका बाँदरभन्दा केही फरक देखिन्थ्यो । नेपाल ल्याइएको चार–पाँच वर्षपछि उमेरसँगै उसको शरीरको आकार पनि बढ्दै गयो । ‘यहाँका बाँदरहरूको तुलनामा पवनको जीउ धेरै नै ठूलो थियो, पछि त त्यो सानो खोरमा नै नअट्ने जस्तो पो हुन लाग्यो,’ लामाले ६–७ वर्षअगाडिको घटना स्मरण गरे, ‘त्यसपछि हामीले यसलाई ठूलो खोर बनाइदिने निर्णय गरेका थियौं ।’

केही सहयोगी साथीहरू र पशुपतिनाथको दर्शन गर्न आउने भक्तहरूले स्वेच्छाले गरेको सहयोगबाट चार–पाँच वर्षअघि पवन अहिले बस्ने गरेको ठूलो खोर बनाइएको लामाले बताए । घुम्न आएका एक अमेरिकी नागरिकले पनि त्यो कुरा थाहा पाएर दुई हजार रूपैयाँ सहयोग गरेका थिए । त्यसबेलादेखि पवन त्यही खोरमा बस्दै आएको छ ।

पवनलाई सूर्यघाटका भक्तहरूले बिहान–बेलुकी दूध–भात खुवाउने गरेका छन् । दिउँसो त्यहाँ घुम्न आउनेहरूले पनि केही फलफूल वा अन्य खानेकुरा दिन्छन् । पछिल्लो समय त्यहीँका एक भक्तले पवनले आफ्नो कपाल तानिरहेको भिडियो टिकटकमा अपलोड गरिदिएपछि त्यो भिडियो चर्चामा आयो र विस्तारै भाइरल भयो ।

अहिले मानिसहरू पवनसँग आशीर्वाद लिन मात्रै पनि पशुपति आउन थालेको लामाले बताए । पवनले भने साँच्चै आशीर्वाद दिएका हुन् वा उनले रिसले मान्छेहरूको कपाल तानिरहेका छन् भन्ने कुराको हेक्का भने कसैले राखेको पाइँदैन । त्यहाँको दृष्य देख्दा मान्छेहरूले आफ्नो मनोरञ्जनका लागि बोल्न र आफ्नो भाव प्रकट गर्न नसक्ने अवोध प्राणीलाई गिजोलिरहेको प्रतीत हुन्छ ।

अहिले सूर्यघाटका भक्तहरू नै पवनलाई लिएर यसरी टिकटक बनाउने काम बन्द गरिनुपर्छ भन्न थालेका छन् । ‘एक त बाँदरजस्तो चञ्चल प्राणीलाई त्यसरी थुनेर राख्नु नै एक किसिमले सजाय दिए जत्तिकै भइरहेको छ,’ लामाको धारणा थियो, ‘त्यसमाथि दिनभरि मान्छेले घेर्ने, होहल्ला गर्ने र गिजोल्ने अनि ‘बाँदरले आशीर्वाद दियो ‘भन्दै भिडियो बनाउने कार्यलाई आजका मानिसहरूको जंगली प्रवृत्ति मान्न कठिन हुँदैन !’

‘सानै उमेरबाट मानिसहरूसँगै हुर्किएका कारण पवन मान्छेहरूसँग केही रत्तिएको कुरा सत्य हो, तर उसले आशीर्वाद दिने वा उसँग केही दैवीशक्ति छ भन्ने कुरा भने अन्धविश्वास मात्र हो,’ लामो समय पवनको सेवामा बिताएका जीवन लामाले भने, ‘यस्तो भ्रम फैलाउने काम तत्काल बन्द गरिनुपर्छ, त्यो प्राणीलाई शान्तसँग बस्ने वातावरण मिलाइदिन सबैलाई आग्रह गर्दछु ।’

आशुतोष अधिकारी, आइएनएस स्वतन्त्र समाचार

Hello

प्रतिक्रिया

सम्बन्धित खवर