काठमाडौं–  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सबै विवरण प्रणालीमा समावेश गर्न बाँकी रहे पनि करिब चार हजारजनाले उम्मेदवारी फिर्ता लिएको जानकारी प्राप्त भएको बताए । सो प्रणालीमा आज ७ बजेसम्मको विवरणअनुसार एक लाख ५३ हजार २२० उम्मेदवार प्रणालीमा प्रविष्ट भएका छन् ।

तर, भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेदवारी कायमै छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय गुजारेपछि उनको उम्मेदवारी कायम रहेको हो ।

उम्मेदवारी फिर्ता नलिन दबाब दिँदै पौडेल निवासमा बिहानैदेखि नेता कार्यकर्ताको भीड लागेको थियो । पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता रेनु दाहाल भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवार छिन् ।

पौडेलले आफ्नो उम्मेदवारी रुख तथा चारतारे झण्डाविरुद्ध नभएर लोकतान्त्रिक पद्धतिको प्रयोग र प्रवर्द्धनमा केन्द्रित रहेकाले फिर्ता नलिएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय