मंगलबारे– नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको भन्दै स्थानीयले खेद्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ । राईसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको सशस्त्रको भनाइ छ ।
स्थानीयले मौन अवधिमा प्रचार–प्रसारको काममा लागेको भन्दै लखेटेको जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले बताए । ‘असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको छ,’ उनले भने ।
मौन अवधिमा उम्मेदवार राईले मतदातालाई पैसालगायत प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए । आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।









