काठमाडौं– उपत्यकाको उत्तरपश्चिमी भेगको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि नेकपा एमालेले जितेको यो नगरपालिकाको नेतृत्व गर्ने मौका कांग्रेसले पाएको हो ।

यो नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गरेके सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका उम्मेदवार सिर्जना बुर्लाकोटी १० हजार २२४ मत प्राप्त गरी निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गरिन् ।

उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरिन् । ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

यसअघिका मेयर बोहोरा र उपमेयर डोटेल दुवै पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय