काठमाडौं– नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माले काठमाडौंको मेयर र उपमेयरमा निर्वाचित क्रमशः बालेन्द्र (बालेन) साह र सुनिता डंगोललाई बधाई ज्ञापन गर्दै उनीहरुका सत्प्रयासमा साथ दिने बताएका छन् ।
देशकै केन्द्र र आकर्षक मानिएको काठमाडौंको मेयर र उप–मेयरमा निर्वाचित साह र डंगोललाई यही उमेरमा यो तहको जिम्मेवारी जनताले बोकाउनु साँच्चै नै सुन्दर र लोभलाग्दो रहेको शर्माले उल्लेख गरेका छन् । ‘जनताको आशा र अपेक्षा धेरै नै बढी छ, जिम्मेवारीको भारी ठूलो नै छ, हामी सबैको साथ सधैं भरी यहाँहरुलाई रहिरहने छ, अगाडि बढ्नुहोला, अवको अबको नेतृत्व युवाले यसरी नै लिन सक्नुपर्छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।
नेतृत्वको अति देवत्वकरण र अति दानवीकरण हुन सक्ने सम्भावनाबारे सम्झाउँदै शर्माले त्यो कुरा नबिर्सन पनि दुवै निर्वाचितलाई सुझाएका छन् । ‘त्यसैले सजगता र मेहनतका साथ महानगर विकास भएको हेर्ने इच्छा पूरा गर्नेतर्फ यहाँहरुको पाइला लम्किउन्, धेरै धेरै शुभकामना दुवै युवालाई,’ शर्माले भनेका छन् ।
शर्मा २०७४ को संसदीय निर्वाचनमा माओवादी केन्द्र र एमाले सम्मिलित वाम गठबन्धनको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए । उनीसँगै कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रविन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचन कांग्रेका सिंहले जितेका थिए ।









