काठमाडौं– स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा ७ र गाउँपालिका अध्यक्षमा ६ जना निर्वाचित भएका छन् । काठमाडौं महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौंमा पहिलो पटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५, धरान उपमहानगरमा हर्कराज राई २० हजार ८२१, र धनगढी उपमहानगरमा गोपाल हमाल २६ हजार ८६५ मतसहित प्रमुख निर्वाचित भए ।
स्वतन्त्र उम्मेदवार उपप्रमुख २ र उपाध्यक्ष २ निर्वाचित भएका छन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भएका छन् । तीमध्ये १३३ पुरुष र ३ महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५, पुरुष सदस्य ११७ निर्वाचित भएका छन् ।









