काठमाडौं– मंकिपक्सको आशंका गरिएको एकजना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिएकी छिन्

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्ट रोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकिपक्सको आशंकामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अहिलेसम्म २९ वटा देशमा मंकिपक्स देखापरेको र एक हजारभन्दा बढी संकमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा मिश्राले नेपालमा अहिलेसम्म मंकिपक्सको बिरामी नेपाल फेला नपरेको बतइन् । दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकिपक्सको आशंकामा टेकु अस्पतालमा पठाएको थियो ।

‘मन्त्रालयले विश्वव्यापी रुपमा बढ्दै गएको मंकिपक्स संक्रमणबारे सचेत रहेको र सर्तक अवस्थामा रहेको छ । यस सम्बन्धमा हामी सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई मंकिपक्सको कुनै पनि शंकास्पद संक्रमणहरु मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सम्बन्धित अधिकारीलाई सूचना उपलब्ध गराउन आग्रह गर्दछौं,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ती बिरामी दुबई हुँदै नेपाल आएका हुन् । उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय