काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैंजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।

उनले प्रदूषित खानेपानीले हैंजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेरमात्र खान अनुरोध गरेका छन् । अहिलेसम्म १२ जनामा हैंजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपानी कारणले हैंजा देखिएको छ ।

झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ । यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ ।

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुने जस्ता लक्षण झाडापखलाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ । यस्तै खान पिउन समेत नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार वान्ता भइरहेमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा पनि अस्पताल लैजान भनिएको छ ।
झाडापखला घरमा उपचार गर्न सकिन्छ

यस्तै झाडापखलाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ । यदि झाडापखला भएमा झाडापखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने, प्रसस्त मात्रामा सफा तथा झोल कुरा पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक–पटक खुवाइरहने गर्नुपर्दछ ।

यस्तो बेलामा स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा नबिराइकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्दछ ।

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए । उनले ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जिवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्मसमेत रहेको बताए । हैजोको प्रकोप बढ्न थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय