महेन्द्रनगर– कञ्चनपुर उद्योग वाणिज्य संघको १७औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्बर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

कञ्चनपुरमा व्यावसायिक क्षेत्रमा सक्रिय पिताम्बर संघको बहालवाला वरिष्ठ उपाध्यक्ष हुन् भने गणेश पूर्वअध्यक्ष हुन् । संघको नेतृत्वका लागि दुवैजना आ–आफ्नो टोलीसहित चुनावी मैदानमा उत्रिएका छन् । पिताम्बर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यही असार २५ गते महेन्द्रनगरमा हुने निर्वाचनका लागि प्यानलसहित जिल्लाभर चुनावी दौडमा दुवै प्यानल छन् । पिताम्बर प्यानलले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ । संघका वर्तमान अध्यक्ष जंगबहादुर मल्ल, पूर्वअध्यक्ष हेमराज पाण्डेय, माधव भट्टलगायतको साथ रहेको भन्दै आफू जित्नेमा पिताम्बर आशावादी छन् ।

व्यवसायीको सम्मान, मुलुक समृद्धिको आधार भएको उल्लेख गर्दै उनले आफू व्यापारी, व्यवसायीको हकहित र अधिकारका लागि सक्रिय रहने बताए । ‘सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापनादेखि मझगाउँ विमानस्थल सञ्चालनसम्मका निजी क्षेत्रको पहिलेदेखि नै सक्रिय पहल रहेको उनको भनाइ थियो । उनको प्यानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वरप्रसाद जोशी चुनावी प्रतिस्पर्धामा छन् ।

गणेशदत्त प्यानलबाट वाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला सापकोटा भट्ट उम्मेदवार बनेका छन् । तीन हजार २०० भन्दा बढी मतदाता रहेको संघको १७औं कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षसहित ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय