काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार कृषि, तथा पशुपक्षी विकास मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघिका मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुलाई सरकारमा पठाएको हो ।
यसअघि जसपाबाट कृषि तथा पशुपक्षी मन्त्रीमा महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रेनुकुमारी यादव र वन तथा वातावरण मन्त्रीमा रामसहायप्रसाद यादव थिए । नवनियुक्त मन्त्रीको आजै अपराह्न शपथ कार्यक्रम राखिएको बताइएको छ । राष्ट्रपति भण्डारीले यसअघि यही असार १२ गते मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरेकी थिइन् ।









